गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र – Himalayan Dainik

गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र


गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र

भोजपुर, २१ जेठ – भोजपुरको पौवादुङमा गाउँपालिका गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालोपत्र थालिएको छ । मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउपालिका प्रवेश गर्ने स्थान तिवारीभञ्ज्याङलाई शून्य विन्दु मानेर कालोपत्र थालिएको हो । तिवारीभञ्ज्याङ–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्र च्याङ्ग्रेसम्म पु¥याउने लक्ष्यका साथ दुई प्याकेजमा कालोपत्र भइरहेकोे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र सम्पन्न हुने उहाँको भनाइ छ ।

तिवारीभञ्ज्याङको शून्य विन्दुबाट वडा नं २ को स्वास्थ्य चौकीसम्म एक प्याकेज र स्वास्थ्य चौकीबाट गाउँपालिका केन्द्रसम्म दोस्रो प्याकेजमा काम भइरहेको उहाँले बताउनुभयो । पहिलो प्याकेजको सडक डिभिजन कार्यालय तुलिम्टारको भ्याटसहित रु एक करोड र दोस्रो प्याकेजको भ्याटसहित रु चार करोड दुई लाख लागत रहेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ ।

“तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र थालेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “सडकको काम दुई प्याकेजमा भइरहेको छ । कालोपत्रको काम समयमा सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको छ । यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र हुन्छ ।” सडक सङ्घीय समपूरक अनुदान, प्रदेश समपूरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा कालोपत्र थालिएको हो ।

यो सडक कालोपत्रको काम गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यो सडक भोजपुरवासीलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग भएकाले महत्वका साथ कालोपत्रको काम थालिएको अध्यक्ष राईको भनाइ छ । आफ्नो कार्यकालभित्र ३१ किलोमिटर सडक नै कालोपत्र गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

“यो सडक हाम्रो गाउँपालिकाको गौरवको योजना हो”, अध्यक्ष राईले भन्नुभयो, “भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग पनि हो । पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने योजना छ । भावी दिनमा यो सडकको अधेँरीघाटसम्मको ३१ किलोमिटर नै कालोपत्र गर्ने मेरो लक्ष्य छ ।”

तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र सुरु भएपछि उत्साह थपिएको वडा नं २ तिवारीभञ्ज्याङका स्थानीयवासी राजकुमार तिवारीले बताउनुभयो । सडक कालोपत्र सुरुले गाउँपालिकावासीको धेरैपछिको सपना पूरा भएको उहाँको भनाइ छ ।

“सडक कालोपत्र थालिएपछि हामीमा उत्साह थपिएको छ”, उहाँले भन्नुभयो, “सडक कालोपत्रले यहाँको जनजीवनमा परिवर्तन आएको छ । गाउँपालिकाले थालेको यो काम प्रशंसायोग्य छ । यो सडकले हाम्रो गाउँपालिको सम्पूर्ण भू–भागलाई छोएको हुनाले यहाँका कृषिउपजले समेत राम्रो बजार पाउने छ ।”

सडक कालोपत्र सम्पन्नको अन्तिम अवधि २०८१ साल असार २० गतेसम्म रहेको छ । सडक नालीसहित आठ मिटरको हुने निर्माण कम्पनी एवाई आनन्द जेभी धनकुटाले जनाएको छ । प्रिमिक्स प्राविधिबाट यो सडकको कालोपत्र हुने जनाइएको छ ।