३३ पोखरी पदयात्रा सम्पन्न – Himalayan Dainik

३३ पोखरी पदयात्रा सम्पन्न


३३ पोखरी पदयात्रा सम्पन्न

भक्तपुर,१ वैशाख – नयाँ बर्ष २०८१ तथा बिस्का जात्राको अवसरमा ऐतिहासिक तथा साँस्कृतिक नगर भक्तपुरमा ३३ पोखरी पदयात्रा सम्पन्न भएको छ ।

तापमान बढेसंगै पोखरीहरु सुकिरहेका छन् । भक्तपुर सहरका पोखरीको अवस्था अध्ययन अवलोकन साथै प्रवर्द्धन गर्ने उदेश्यले बिगत ७ बर्ष देखि नयाँ बर्षको दिन आयोजना गर्दै आएको ३३ पोखरी पदयात्राको महत्व प्रकाश पार्दै ज्ञानखबर एजुकेसन एण्ड रिसर्च मिडियाका व्यवस्थापक राजन कुसीले नयाँ बर्षको शुभकामना नयाँ बर्षको शुभकामना र उत्साहजनक सहभागीताको लागि धन्यवाद व्यक्त गरे। साथै पानीको सतह बढाउने उपायहरु खोज्न पर्नेमा जोड दिए ।

भक्तपुर टुर्सका योजनाकार रविन राचलिकाले पानीको श्रोत संरक्षण गरी साँस्कृतिक सम्पदाहरुको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे ।

कार्यक्रममा सहभागी पदयात्रीहरूको प्रतिनिधित्व गर्दै नारायण खतिवडा तथा राहुल भुजूले कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद सहित पोखरीसंगै रहेको कुमारी बैंक नपुखु शाखाको तर्फबाट नयाँ बर्षको शुभकामना व्यक्त गरे ।

भक्तपुर टुर्स तथा ज्ञानखबर एजुकेसन एण्ड रिसर्च मिडियाको संयुक्त आयोजनामा भएको सो पदयात्रामा कुमारी बैंक लगायतका संस्थाहरूको सहभागीता रहेको थियो ।

दक्षिण भेगको यात्रा
माहेश्वरी मन्दिरबाट सुरु भएको यात्रा जेलाँ स्थित पुखुचा बाट खचाँ पुखु, याता न्हाद पुखु, याता बाहारे पुखु हुदै कुमारी पुखु पुगेको थियो । ल्योसिख्य पुख्बाट खल्लाँ हुदै हालै मर्मत गरिएको लैको पुखुको सौन्दर्य अवलोकन गरी यात्रा बजार क्षेत्र हुदै अगाडी बढेको थियो ।
बजार क्षेत्रको मंगलकुण्डमा पानीको सतह सबै भन्दा बढी रहेको पाइयो, त्यहाँ धाराको पानीले पोखरी भर्ने गरिएको छ । त्यस पछि यात्रा, थुगुचो, देगमना पुखु,तेखापुखु हुदै गत महिना उद्धघाटन गरिएको भाजु पुख पुगे पछि दक्षिण भेगको पोखरीको यात्रा सकियो ।

उत्तरी भेगको यात्रा

रानीपोखरी, सिद्धपोखरी, नपुखु, कालदहचा, मचागाँ पुखु, इन्द्रायणी पुखु पछि यात्रा भक्तपुर दरवार क्षेत्रको खौमा प्रवेशद्वार पुग्यो । दरवार भित्र रहेका तीन पोखरी मध्ये भण्डारखाल पोखरी हालै कला संग्राहलय अन्तर्गत राखिएकोले नयाँ बर्षको बिदाको कारण बन्द रहेको छ । दरवार भित्र रहेको अरिचा पुखु निकै शान्त रहेको छ, भने लायकु लुहिटि पुखुमा फोटो खिच्नेहरुको भीड देखियो ।
ब्यासीमा रहेका दुई पोखरी डाँडाको फेदम रहेको कारणले पानीको सतह अरु पोखरीको भन्दा धेरै रहेको छ । यस्तै अवस्था महाकाली स्थित अचाँ पुखूमा रहेको छ ।

वडा नं. ६ कार्यालयसंगै जोडिएको भौल्वा पुखु गमलामा फुल रोपेर सजाइएको छ । बेखालपुखुको पानी प्रयोगबिहीन अवस्थामा रहेको पाइयो । नागपोखरीमा पनि पानीको सतह तल पगुेको छ । चोर्चाको पुखुमा भने संगै रहेको धाराबाट बगेको पानी जम्मा हुने गरेको छ।

यात्रा सलाँ गणेशपुखु, क्वाठाण्डौ पुखु र गोङग पुखु हुदै लामाग पुखुमा पुग्यो । यस पछि कमलपोखरी, गरुडकुण्ड र अन्तिममा च्याँम्हासिह पुखुमा पुगेर ३३ पोखरी पदयात्रा पुरा भएको हो ।