आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै – Himalayan Dainik

आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै


आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौं, १५ चैत – आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले जानकारी दिनुभएको छ ।

यस वर्ष बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३ सय ७० विद्यार्थी सहभागी हुनेछन्। त्यस्तै मधेश प्रदेशबाट ८१ हजार ३ सय १७, लुम्बनी प्रदेशबाट ७९ हजार ५ सय १६, कोशी प्रदेशबाट ७७ हजार ४ सय १५, सुदुरपश्चिम प्रदेशबाट ५५ हजार ७ सय ६८, गण्डकी प्रदेशबाट ४० हजार ९ सय ७७ विद्यार्थी छन्। सबैभन्दा कम कर्णाली प्रदेशबाट ३९ हजार ६ सय ६८ विद्यार्थी सहभागी हुनेछन्। यो पटक जापानबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्ष विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ ।

एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनु पर्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ ।

३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।