दूरसञ्चार क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिन निर्देशन – Himalayan Dainik

दूरसञ्चार क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिन निर्देशन


दूरसञ्चार क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिन निर्देशन

काठमडौँ, ८ फागुन – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिन नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीलाई निर्देशन दिनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज अध्यक्ष भण्डारीलाई पद तथा गोपनियताको शपथ गराउँदै मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो । अत्यन्त संवेदनशील क्षेत्रको रुपमा रहेको दूरसञ्चार क्षेत्रलाई गुणस्तरीय, सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि योजनाबद्ध पहल आवश्यक रहेको बताउनुभयो । मुलुकको आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य रहेको र त्यसका लागि दूरसञ्चार आधारभूत डिजिटल पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री शर्माले चाँडोभन्दा चाँडो देशका सबै भूभागमा दूरसञ्चार सेवा पु¥याउने गरी काम गर्न सुझाव दिनुभयो ।
मन्त्री शर्माले सूचना प्रविधि नयाँ क्षेत्र भएको र यसमा प्रयोग हुने उपकरण तथा प्रणालीको खरिद र जडान प्रक्रियामा अन्य क्षेत्रबाट बढी अनियमितताको गुनासो आउने गरेकाले आगामी दिनमा त्यस्तो स्थिति आउन नदिन प्राधिकरणले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नवनियुक्त अध्यक्ष भण्डारीले राष्ट्रहित र नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दूरसञ्चार क्षेत्रको बदलिँदो आयाम र आफ्नो दुई दशक लामो सूचना प्रविधि क्षेत्रको अनुभवका आधारमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा योगदान दिने उहाँले बताउनुभयो ।

यही फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उहाँ खुला प्रतिस्पर्धाबाट पाँच वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको हो । निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि अध्यक्ष पदमा खुला प्रतिस्पर्धाका लागि आह्वान गरिएको थियो ।

प्रतिस्पर्धाका लागि २५ जनाले आवेदन दिएकामा सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित सिफारिस समितिले भण्डारी, शैलेन्द्र गिरी र नवीन जिसीको नाम मन्त्रिपरषद्मा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले पहिलो नम्बर रहेका भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।