माघ २२ मा देशभरका सिनेमा हल बन्द हुने – Himalayan Dainik

माघ २२ मा देशभरका सिनेमा हल बन्द हुने


माघ २२ मा देशभरका सिनेमा हल बन्द हुने

काठमाडौँ, १७ माघ – चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् ।

हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने जनाएको हो । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ ।

संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरुको नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछु ।’