सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट छः प्रधानमन्त्री प्रचण्ड – Himalayan Dainik

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट छः प्रधानमन्त्री प्रचण्ड


सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन्।

आइतबार राष्ट्रिय समाचार समिति(रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे। उनले विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि सञ्चारमाध्यमहरूलाई समय र युग सुहाउँदो रूपमा थप अद्यावधिक गर्न आवश्यक रहेको बताए।

प्रधानमन्त्री दाहालले सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरूस्त बनाउन आवश्यक रहेको बताए। उनले कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु भएको उल्लेख गर्दै लोकतान्त्रिक शासन प्रणाली भए मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको बताए।

‘अब सूचना प्रविधिभन्दा बाहिर कुनै विषय र मुद्दा छैन। आजको २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको छ। विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी हामीले पनि आफ्ना सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रूपमा थप अद्यावधिक गर्न आवश्यक छ,’ उनले भने, ‘जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्छ। सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरूस्त बनाउन आवश्यक छ। कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु हो। वर्तमान सरकार यसमा अडिग छ। वर्तमान सरकार नागरिकको विचार अभिवृद्धिको सम्मान गर्छ। पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ छ।’