लोकतन्त्रले जनताको आकांक्षा पूरा गर्नु पर्छ : राष्ट्रपति – Himalayan Dainik

लोकतन्त्रले जनताको आकांक्षा पूरा गर्नु पर्छ : राष्ट्रपति


लोकतन्त्रले जनताको आकांक्षा पूरा गर्नु पर्छ : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउनु पर्ने बताएकी छिन्।

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको शहीदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिन सक्नुपर्ने बताएकी हुन्।

सन्देशमा उनले नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताएकी छिन्। ‘हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ शहीदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिन सक्नुपर्दछ’, उनको सन्देशमा भनिएको छ, ‘त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ।’

नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति श्रद्धा प्रकट गरेकी छिन्।​