नेपाली चलचित्र ‘फूलबारी’ आजदेखि हलमा – Himalayan Dainik

नेपाली चलचित्र ‘फूलबारी’ आजदेखि हलमा


नेपाली चलचित्र ‘फूलबारी’ आजदेखि हलमा

काठमाण्डौ – नेपाली चलचित्र ‘फूलबारी’ आजदेखि प्रदर्शनमा आएको छ । अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको यस चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राईको अभिनय रहेको छ ।

सञ्चयकोषमार्फत् पाउने रकम विद्यालयमै आफ्नी आमाको नामबाट कोष खडा गरेर अवकाशप्राप्त जीवन आफ्नो श्रीमती र सन्तानसँग बिताउने चाहना राखेको अभिभावकको अभाव र सरलताको कथा चलचित्रमा देखाइएको छ । यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ भने यसलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

शिक्षक जयनारायण शर्माका श्रीमती लक्ष्मी शर्मा र तीन छोरा छन् । जेठोले विवाह गरिसकेका छन् र श्रीमतीसहित छोरीसँग बस्छन् । माइलोको आफ्नै एक ब्याण्ड छ र स्ट्रगल गरिरहेका छन् । कान्छो भने आफ्नो भविष्य बनाउन अस्ट्रेलिया लागिका छन् । तीन छोराको भविष्यका लागि जीवनभर मेहनत गरेका शर्मा दम्पती उपचार गराउन सहर पुगेपछि भोग्ने परिस्थितिले दर्शकसँग चलचित्रलाई जोड्छ ।

अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कार नै यसको मूल कथा हो । प्रदर्शनको पूर्वसन्ध्यामा हिजो काठमाण्डौमा गरिएको प्रदर्शनीमा चलचित्र हेर्न आइपुगेका कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् । विशेषत शिक्षक जय नारायणको भूमिकामा देखिएका अभिनेता कार्कीको चर्चा भयो । ‘परिवारले हेर्नुपर्ने चलचित्र बनेको छ । यसले महत्त्व दर्शाउँछु, अभिनेता तथा निर्देशक निर्मल शर्माले भने ।

‘कबड्डी’ का शृङ्खलामार्फत् दर्शकमाँझ पुगेका निर्देशक गुरुङले ‘पुरानो डुङ्गा’पश्चात् फरक श्रेणीको चलचित्र निर्देशन गरेका हुन् । ‘पहिलो दर्शक बनेका कलाकर्मी र मिडियाकर्मीबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौँ ‘। दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छु, उनले भने । – रासस