जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि प्रसूति सेवा ठप्प – Himalayan Dainik

जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि प्रसूति सेवा ठप्प


जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि प्रसूति सेवा ठप्प

पर्वत – जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि प्रसूति सेवा ठप्प भएको छ । जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा बन्द भएका हो । प्रसूति सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

अस्पतालमा जलजला, फलेवास, कुश्मा र मोदी, महाशिला र विहादीका सेवाग्राही सेवा लिन आउने गर्छन् । छिमेकी जिल्ला बाग्लुङको दक्षिणी क्षेत्र जैमिनी नगरपालिकाका नागरिक पनि यहाँ उपचारका लागि आउने गर्दछन् । एक महिनादेखि चिकित्सक नहुँदा प्रसूति गराउनका लागि पोखरा, काठमाण्डौलगायत ठाउँ पुग्नुपर्ने बाध्यता रहेको छ ।

पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटकी कुमारी रेग्मी प्रसूति ब्यथाले च्यापेर झण्डै १० किलोमिटर सडक यात्राबाट बिहीवार पर्वत अस्पताल पुग्दा चिकित्सक नभएपछि फर्किएर पोखरा जान बाध्य भएको स्थानीय नवराज क्षेत्रीले बताए । एक महिनाअघि आफूलाई पनि यस्तै समस्या परेको उनले बताए । रेग्मी जस्तै दैनिक अरु गर्भवती र सुत्केरी उपचारका लागि यहाँ आउने गरे पनि सेवा पाउन सकेका छैनन् ।

जिल्लाका अन्य स्वास्थ्य संस्थामा जटिल खालका गर्भवती सुत्केरी गराउनका लागि शल्यक्रिया सेवा नहुँदा पर्वत अस्पतालमै आउनुपर्ने बाध्यता छ । सेवा नपाएपछि पोखरा तथा काठमाण्डौ रिफर गर्नुपरेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल पर्वतकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रुक्मिणा अधिकारीका अनुसार अस्पतालमा कार्यरत चिकित्सक डा. हेमन्त बराल एक महिनादेखि तालिममा छन । अस्पतालमा थप दरबन्दी वा वैकल्पिक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको उनले बताए ।

पर्वत अस्पतालमा यस मासिक ३० देखि ३५ जनासम्मले सुत्केरी सेवा लिँदै आएका थिए । अहिले सामान्य अवस्थाका बाहेक सबैजसो पोखरा र काठमाण्डौ जाने गरेका छन् ।-रासस