उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन:म्याद थपिन्छ, काम सकिँदैन – Himalayan Dainik

उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन:म्याद थपिन्छ, काम सकिँदैन


उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन:म्याद थपिन्छ, काम सकिँदैन

लमजुङ – लमजुङमा निर्माणाधीन उदिपुर–मार्कीचोक–भरतपुर सय २० केभी प्रसारण लाइनको म्याद पटक–पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन। तीन वर्षमा सक्नुपर्ने काम छ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन।

प्रसारण लाइनको म्याद म्याद तीन पटक थपिएको छ। तर हालसम्म करिब ६५ प्रतिशतमात्र काम सम्पन्न भएको छ।

उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनका डिभिजन प्रमुख नारायण रेग्मीका अनुसार रूख कटान आदेशमा ढिलाइलगायत कारणले काममा ढिलाइ भएको हो। प्रसारण लाइनको निर्माणको सम्झौता सन् २०१८ जनवरीमा भएको थियो।

‘आगामी जुन महिनासम्म सम्पन्न गर्न पुनः म्याद थप गरी काम भइरहेको छ’, उनले भने।

आयोजनाका अनुसार ६७ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म यस प्रसारण लाइन पुर्‍याउनका एक सय ९३ टावर निर्माण गर्नुपर्नेछ। लमजुङमा ४५ टावर निर्माण हुनेछन्। हालसम्म लमजुङतर्फको २५ टावर निर्माण भएका छन्।

दोर्दी करिडोरका आयोजनाको विद्युत् मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ। उदिपुरबाट मध्यमर्स्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ टावर निर्माण गरिएका छन्। तनहुँमा १५ टावरको जग हाल्ने काम भएको छ भने चितवनमामा एउटाको जग हालिएको छ।

गोरखामा समेत टावरको जग हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ।-रासस