भरतपुर महानगरले २०८० लाई भ्रमण वर्षको रूपमा मनाउने – Himalayan Dainik

भरतपुर महानगरले २०८० लाई भ्रमण वर्षको रूपमा मनाउने


भरतपुर महानगरले २०८० लाई भ्रमण वर्षको रूपमा मनाउने

चितवन – भरतपुर महानगरपालिकाले वि.सं. २०८० लाई भ्रमण वर्षका रूपमा मनाउने भएको छ । महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रवर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागिएको हो ।

महानगरपालिकाले भ्रमण वर्षका सन्दर्भमा सरोकारवालाबीच आइतबार छलफल गरेको छ । छलफलमा सहभागीले यहाँ आएका पर्यटकको बसाइँ लम्ब्याउन सक्ने गरी कार्यक्रम तय गर्न सुझाव दिएका छन् । पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने बताए ।

पालिकाभित्रका सबै वडामा पर्यटन समिति गठन गरेर अघि बढ्नुपर्ने उनीहरूको सुझाव थियो । उनीहरूले वडामा रहेका हरेक टोल सुधार समितिलाई सक्रिय बनाउँदै पर्यटन वर्ष २०८० सफल बनाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष दिनेश चुकेले आर्थिक अवस्था बिग्रँदै गएको अवस्थामा सुधारको आवश्कता रहेको बताए । भरतपुर महानगरभित्र २५० र जिल्लाभर ६ सयभन्दा बढी होटल सञ्चालनमा छन् । जिल्लामा भएका होटललाई चलायमान बनाएर जानुपर्ने उनको भनाइ थियो ।

भरतपुर महानगरका पर्यटनविज्ञ डा। विश्व सुवेदीले भरतपुर महानगरलाई पर्यटकीय क्षेत्रको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए । बिग्रँदै गएको अर्थतन्त्रलाई सुधारका लागि भ्रमण वर्ष सकारात्मक हुने उनको भनाइ छ । – रासस