१२ करोडका सडकबत्ती जडान गर्दै महानगर – Himalayan Dainik

१२ करोडका सडकबत्ती जडान गर्दै महानगर


१२ करोडका सडकबत्ती जडान गर्दै महानगर

काठमाडौं – महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ । महानगर, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र प्राधिकरणतर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो । स्रोत–साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडकबत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरूपता कायम गर्न साझेदारसँग सहकार्य गरेको पूर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले बताए । बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार नौ सय २५ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

लागतमध्ये ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत नेपाल विद्युत् प्राधिकरणले व्यहोर्नेछ । महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगन्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शीतलनिवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् । यी सडकबत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।

यसैगरी, प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तिनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेलवरिपरि बत्ती जडान हुनेछन् । यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आ–आफ्ना स्वामित्वमा भएका सौर्यबत्ती संरचना र यससँग सम्बन्धित प्यानल, ब्याट्रीलगायत सामान आफैँले पुनः प्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । यसपछिको मर्मत–सम्भार महानगरपालिकाले गर्नेछ । त्यसपछि सडकबत्ती प्रयोग भएबापतको शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ ।