बर्दघाटमा स्रोतमै वर्गीकरण गरेर फोहोर संकलन सुरु – Himalayan Dainik

बर्दघाटमा स्रोतमै वर्गीकरण गरेर फोहोर संकलन सुरु


बर्दघाटमा स्रोतमै वर्गीकरण गरेर फोहोर संकलन सुरु

नवलपरासी – सात पालिका रहेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले पहिलोपटक स्रोतमै वर्गीकरण गरेर फोहर संकलन गर्ने कार्य थालनी गरेको छ ।

नगरपालिकाले ३० बुँदे कार्ययोजनाअन्तर्गत कुहिने, नकुहिने र सिसाजन्य तीन प्रकारका फोहोरलाई छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

नगर क्षेत्रबाट उत्पादन हुने फोहोरको स्रोतबाट नै वर्गीकरण गरेर उचित व्यवस्थापन गर्ने तयारी गरिरहँदा कोही कसैले आनाकानी तथा आलटाल गरे वा अवरोध गरे तत्काल नगरबाट दिने सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ ।

नेपालको संविधानले प्रदान गरेको स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै फोहोरमैला व्यवस्थापन कार्यान्वयनका लागि अभियान सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

प्रचलित कानुनबमोजिम रु. पाँच हजारदेखि रु. एक लाखसम्म जरिवाना गर्ने गरी अभियानलाई अघि बढाइएको छ । यसैबीच बर्दघाट– ४ को जंगल क्षेत्रमा ल्यान्डफिलसाइटसमेत बनाउने गरी कार्य थालनी गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख श्रेष्ठले नगरसभा र नगर कार्यपालिकाबाट नै नीतिगत निर्णय गरेर आवश्यक कार्यविधि तथा कानुन बनाएर फोहोर वर्गीकरण अभियानमा लागेको बताए । नगरपालिकाले फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । फोहर संकलनको जिम्मा पाएको बर्दघाट बजार विकास समितिले २२ टोलबाट संकलन गरेको फोहोर अहिले वर्गीकृत भएर प्रशोधन स्थलमा पुग्ने गरेपछि फोहोरको चापसमेत घट्दै गएको छ । – रासस