कालीगण्डकीको देवशिला भारतको अयोध्या पुर्‍याइयो – Himalayan Dainik

कालीगण्डकीको देवशिला भारतको अयोध्या पुर्‍याइयो


कालीगण्डकीको देवशिला भारतको अयोध्या पुर्‍याइयो

काठमाण्डौ – नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गएराति भारतको उत्तर प्रदेशमा रहेको अयोध्या पुर्‍याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन शिला लगिएको हो ।

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोमा रहेको कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि त्यहाँ पुगेको हो । अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर अयोध्या पुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई स्वागत गरेका थिए ।
ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए । शिलालाई बुधवार नै राम सेवकपुरममा राखिएको छ भने आज बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए ।

ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि आज देवशिला ग्रहण गर्ने बताए । उनले आयोध्यामा रहेको राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्ने जानकारी दिए ।

यसअघि बुधवार बिहान गोरखपुरमा रहेको गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडि बढाइएको थियो । – रासस