लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की विजयी – Himalayan Dainik

लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की विजयी


लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की विजयी

पर्वत – पोखरामा सम्पन्न भएको पाँचौँ अधिवेशनबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा राजन कार्की विजयी भएका छन्।

नेतृत्व तथा पदाधिकारी चयनमा सर्वसम्मत नभएपछि गर्नुपरेको निर्वाचनमा कार्कीले आफ्ना प्रतिस्पर्धी पूर्ण परियारलाई पाँच मतले पछि पारेका हुन्। कुल १६४ मत खसेकोमा कार्कीले ८२ मत पाउँदा परियारले ७७ मत पाएका छन्।

सदस्य चयनमा सर्वसम्मत भए पनि अन्य पदाधिकारीमा पनि अडान कायमै रहँदा निर्वाचन भयो। जसबाट वरिष्ठ उपाध्यक्षमा केशव देवकोटालाई पराजित गर्दै माया गुरुङ निर्वाचित भएकी छिन्। गुरुङले १ सय मत पाउँदा देवकोटाको पक्षमा ५६ मत परे। प्रथम उपाध्यक्षमा दिलु लामा ८६ मत सहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी आरसी (रामचन्द्र) पौडेलले ६९ मत पाए।

द्वितीय उपाध्यक्ष सय सात मत सहित प्रेमराज अधिकारी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धीहरू जयनारायण लम्सालले २६ र अकल विरही गुरुङले १५ मत पाएका छन्। महिला उपाध्यक्षमा मञ्जु विक, सचिव पदमा रामजी पौडेल, महिला सचिवमा ज्योति लोहनी निर्विरोध निर्वाचित भएका छन्।

कोषाध्यक्षमा कृष्ण सुवेदीले केशव घिमिरेलाई पराजित गरे। सुवेदीको पक्षमा ९७ मत खस्दा घिमिरेले ४६ मत पाए। सहसचिवमा दीपक पौडेलले अन्य दुई प्रतिस्पर्धीहरू विमल जिसी र प्रेम बस्याललाई पराजित गरेका छन्।

उनीहरूले क्रमशः ६४, ३५ र ५० मत पाएका छन्। सहकोषाध्यक्षमा अनिता पन्त र निशा पोख्रेललाई पराजित गर्दै होम गुरुङ निर्वाचित भएका छन्।

सदस्यहरू भने निर्विरोध चयन भएका छन्। उनीहरू महिला सदस्यमा मधु चापागाईँ, टौसेवा गुरुङ सविना, सुनिता नेपाली, सपना परियार रहेका छन्।

भूगोलतर्फ स्याङ्जाबाट ऋषि डुम्रे, म्याग्दीबाट अमित विश्वकर्मा, बागलुङबाट हरि सुनार, कास्कीबाट माधव चापागाईँ, तनहुँबाट विष्णु पराजुली अधिकारी, लमजुङबाट टसबहादुर गुरुङ, नवलपुरबाट विष्णुकुमार वाग्ले, गोरखाबाट विकास नेपाली, पर्वतबाट सरस्वती लामिछाने चयन भएका छन्।

खुला सदस्यहरूमा ज्ञानेश्वर सुवेदी, प्रकाश बराल, सन्दीप परियार, विक्रम गुरुङ, धिरन थापा, कृष्ण गैह्रेर टेक क्षेत्री चयन भएका छन्।