अनेरास्ववियूले जलायो शिक्षा मन्त्रीको पुत्ला – Himalayan Dainik

अनेरास्ववियूले जलायो शिक्षा मन्त्रीको पुत्ला


अनेरास्ववियूले जलायो शिक्षा मन्त्रीको पुत्ला

काठमाडौँ  – नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू केन्द्रीय समितिले शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै पुत्ला जलाएको छ।

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो।

अनेरास्ववियू केन्द्रीय समितिले शिक्षा मन्त्री खनाल भ्रष्ट भएको आरोपसहित पुत्ला जलाएको हो।

शिक्षा मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियूको आरोप छ।

उनीहरुले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन्।

शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए।

मन्त्रीको उक्त निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले बिरोध जनाएका छन्।