कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर – Himalayan Dainik

कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर


कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर

काठमाडौँ – प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । गृह मन्त्रालयबाट मौखिक र लिखित निर्देशन आएको प्रहरी प्रवक्ता (डीआईजी)टेक प्रसाद राईले बताए । उनले भने–‘देशभर सर्कुलर गरेका छौँ ।’

सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागिराखेको जानकारी दिँदै प्रवक्ता राईले भने–‘छिट्टै समात्छौँ ।’ उनलाई पक्राउ गर्नेबारे प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको बीचमा विवाद देखिएको छ ।

अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । सांसद कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । नेकपा (एमाले)का सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । चुनावअघि जसपा छाडेर एमाले प्रवेश गरेर उनी चुनावमा होमिएका हुन् ।

उनीविरुद्ध प्रेम बहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । सो मुद्दामा तारेख गुजारेर उनी फरार भएका हुन् ।