मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारीसाधन कारबाहीमा – Himalayan Dainik

मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारीसाधन कारबाहीमा


मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारीसाधन कारबाहीमा

काठमाडौँ – मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बबरमहलमा बिहीबार गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ सवारीसाधनमाथि कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

कारबाहीमा पर्ने सवारीसाधनमा भाडाका मिनीबस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुईवटा रहेका कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले बबरमहलमा आज ५३ सवारीसाधन चेक गरेको थियो ।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले सवारीसाधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारीसाधन मात्र चलाउन प्रहरी वरिष्ठ उपरीक्षक भट्टले चालकहरूलाई अनुरोध गरेका छन् ।