सिमकोट – हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मंसिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो ।
सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् । गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ ।
बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन् ।