पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै – Himalayan Dainik

पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै


पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै

काठमाण्डौ – यही माघ १ गते काठमाण्डौबाट पोखरातर्फ उडेको यती एअरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाण्डौ ल्याएर परीक्षण गर्न थालिएको छ ।

नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाण्डौ ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एअरलाइन्सले जनाएको छ ।

मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ । कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ ।

चालकदलका सदस्यसहित ७२ जना सवार त्यस विमान दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको बाँकी एक व्यक्ति अझै बेपत्ता रहेकाले खोजीकार्य जारी रहेको यती एअरलाइन्सले जनाएको छ । – रासस