ताप्लेजुङ-भद्रपुरमा उडान थप – Himalayan Dainik

ताप्लेजुङ-भद्रपुरमा उडान थप


ताप्लेजुङ-भद्रपुरमा उडान थप

फुङ्लिङ – ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो ।

सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । कार्यालय प्रमुख सिरी खड्काका अनुसार सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुईपटक उडान गर्नेछ । उनका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौंका लागि दुईपटक उडान हुनेछ ।
यस्तै हप्ताको चारपटक काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गरिरहेको निमगको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ–विराटनगर उडान गर्ने तयारी गरिहेको ‘स्टेशन इन्चार्ज’ लोकेन्द्र हाङ्गाम लिम्बूले बताए । प्रदेश नंं १ को राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ–विराटनगर उडान गर्ने तालिका बनिरहेको उनले जानकारी दिए । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल वायु सेवा निमगको ट्वीनअटर जहाजले उडान भर्ने तालिकासँगै ताप्लेजुङ–विराटनगरको उडान तालिका पनि तय हुने उनको भनाइ छ ।
यस पहिले सीता एयरले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्दै आएकामा वर्षायामको सिजनमा भिजिबिलिटी कम भएका कारण उडान स्थगन भएको थियो । मौसम सफा हुने पर्यटकको चहलपहलसमेत वृद्धि हुने भएकाले उडानलाई निरन्तरता दिइएको बताइएको छ । सीता एयरले ताप्लेजुङबाट भद्रपुरका लागि रु पाँच हजार ३८५ र काठमाडौंसम्मका लागि रु नौ हजार २८५ भाडादर निर्धारण गरिएको इन्चार्ज खड्काले जानकारी दिए ।- रासस