सरकारी अस्पतालका फर्मेसीमा पाइँदैन ‍औषधि – Himalayan Dainik

सरकारी अस्पतालका फर्मेसीमा पाइँदैन ‍औषधि


सरकारी अस्पतालका फर्मेसीमा पाइँदैन ‍औषधि

जाजरकोट – जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीले औषधि नपाएको गुनासो गरेका छन्। चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी फार्मेसीमा जान सल्लाह दिने गरेका छन्।

स्वास्थ्य बीमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले समस्यामा पर्ने गरेका छन्। भेरी नगरपालिका–१ की तली कामीले चिकित्सकले लेखिदिएको औषधि नपाएर निजी मेडिकलमा किन्न बाध्य भएको बताए।

ग्यास्ट्रिकको औषधिसमेत नपाएको गुनासो उनले गरे। त्यस्तै भेरी नगरपालिका–३ का चन्द्रबहादुर बुढाले पनि फार्मेसीबाट औषधि नपाएको बताए। ‘नाममात्रको फार्मेसी भएपछि के गर्नु। औषधि बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता छ’, उनले भने।

सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ । फार्मेसीमा औषधि सकिएको जानकारी सम्बन्धित निकायलाई गराए पनि औषधि जिल्लामा नआएको जनाइएको छ।

जिल्ला अस्पतालमा विद्युत् अवरुद्ध

जिल्ला अस्पतालमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको छ। ओपिडी, शल्यक्रिया, एक्सरे सेवादेखि ल्याबसम्मका सबै सेवा विद्युत् नहुँदा ठप्प भएका छन्। जेनेरेटर सञ्चालन गरेर सबै उपकरण सञ्चालन गर्दा महँगो पर्ने भएकाले अस्पतालमादैनिक काम गर्न समस्या भएको हो।

ट्रान्सर्फमर जडान गरे पनि वाइरिङ नगर्दा समस्या भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख अविशेकराज कलुवारले बताए। विद्युत्का सामग्री आउँदै गरेको स्वास्थ्य कार्यालय प्रमुख नवराज कँडेलले दिए। – रासस