बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुनमा – Himalayan Dainik

बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुनमा


बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुनमा

बैतडी – बैतडीमा तेह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन दोस्रो साता हुने भएको छ। बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार फागुन १० देखि १२ गतेसम्म जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुनेछन्।

मेलौली नगरपालिकामा रहेको मेलौली खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहका छात्र र छात्रा खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगितामा कक्षा १२ सम्म नियमित अध्ययनरत १८ वर्ष ननाघेका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्। फागुन १० गतेभन्दा पहिला पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेर जिल्लास्तरीय छनौटमा खेलाडी पठाउन बैतडी जिल्ला खेलकुद समितिले अनुरोध गरेको छ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो र उसु गरी ६ खेल सञ्चालन हुनेछन्।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइनेछ।-रासस