प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने छु : मुख्यमन्त्री अधिकारी – Himalayan Dainik

प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने छु : मुख्यमन्त्री अधिकारी


प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने छु : मुख्यमन्त्री अधिकारी

पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने बताएका छन् ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट आज मुख्यमन्त्री नियुक्त भएपश्चात् पत्रकारसँग कुरा गर्दै उहाँले स्थानीय तह र केन्द्रसँग समन्वय, सहकार्य गर्दै अघि बढ्ने बताए ।

‘समृद्ध गण्डकी, समुन्नत गण्डकी र सुखी गण्डकीका जनता बनाउने कोशिसमा रहनेछौँ’, उनले भने । यो जिम्मेवारी असाधारण रहेको र परिस्थितिलाई सामान्य बनाउने भन्दै उनले राजनीतिक दलबीच सहमति, सहकार्य गर्दै अघि बढ्ने बताए । मुख्यमन्त्री अधिकारीले मन्त्रिमण्डल सानो हुने सङ्केत गरे ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको हो । प्रदेश प्रमुखले गत पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेकोमा अधिकारीले ३३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे)को उनलाई समर्थन छ ।