राहदानी विभागको सर्भर बनाउन फ्रान्सेली टोली भोलि सोमबारसम्म नेपाल आउँदै – Himalayan Dainik

राहदानी विभागको सर्भर बनाउन फ्रान्सेली टोली भोलि सोमबारसम्म नेपाल आउँदै


राहदानी विभागको सर्भर बनाउन फ्रान्सेली टोली भोलि सोमबारसम्म नेपाल आउँदै

काठमाडौं – विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली भोलि सोमबारसम्म आइपुग्ने राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले जानकारी दिए । नेपालमा १५ मंसिर २०७८ बाट सुरु विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको छ ।

राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको छ । विभागका महानिर्देशक यादवका अनुसार कुनैपनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि प्राविधिक टोली बोलाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहदानी विभागमा लागेको लाइन ‘एक महिनाभित्र हटाउन’ निर्देशन दिएकै दिनदेखि विभागले ‘काम ढिलाइमा प्राविधिक समस्या देखिएको’ भन्दै वितरण रोकेको थियो ।

विभागकी प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले सूचना जारी गर्दै विभागको सिस्टममा समस्या आई राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको उल्लेख गरेकी थिइन् ।

विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउनुहुन अनुरोध गरिएको छ ।