मिटरब्याज लिएको आरोपमा साह पक्राउ – Himalayan Dainik

मिटरब्याज लिएको आरोपमा साह पक्राउ


मिटरब्याज लिएको आरोपमा साह पक्राउ

सप्तरी  – चर्को ब्याज असुली गर्ने गरेको आरोपमा सप्तरी प्रहरीले एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका– १ कविलासाका ५५ वर्षीय चन्द्रकान्त साह छन् । उनीमाथि सर्वसाधारणको घरजग्गा बन्धकी राखेर चर्को मिटरब्याजमा ऋण दिने गरेको र सावाँ–ब्याज तिर्नेहरूको धितोसमेत फिर्ता नगरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार डाक्नेश्वरी–१ का पीडितहरूको जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको हो । सोही मुद्दाका अर्का आरोपित जगरनाथ साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मिटरब्याजपीडित मोहम्मद आफताब आलमका अनुसार अत्यावश्यक काम परेर बुबा युसुफले आफ्नो पाँच कठ्ठा १४ धुर जग्गा धितो राखेर १ फागुन ०७३ मा चन्द्रकान्तसँग १० लाख रुपैयाँ ऋण लिएका थिए । त्यसक्रममा साहले दोब्बर रकमको कागज मात्र गराएनन्, पाँच कठ्ठा १४ धुर जग्गा मालपोत कार्यालय राजविराजमा लिखत पास नै गराए ।

आलम परिवारले जग्गा धितो राखेर तमसुक गरी लिएको १० लाख ऋण र ब्याजसहितको १० लाख गरी २० लाख रुपैयाँ चुक्ता गर्‍यो । तर, चन्द्रकान्तले जग्गा र तमसुक फिर्ता दिएनन् । चन्द्रकान्तलाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए ।