विराटनगरसँग हारेसँगै फारवेस्टलाई प्ले अफ पुग्न कठिन – Himalayan Dainik

विराटनगरसँग हारेसँगै फारवेस्टलाई प्ले अफ पुग्न कठिन


विराटनगरसँग हारेसँगै फारवेस्टलाई प्ले अफ पुग्न कठिन

काठमाडौं – विराटनगर सुपर किङ्ससँग ६ विकेटले पराजित भएसँगै फार वेस्टर्न युनाईटेडको प्ले अफ सम्भावना कठिन बनेको छ ।

७ खेल खेल्दा ६ खेल हारेको फरवेस्ट तालिकाका पुछारमा रहेको छ । जितसँगै विराटनगरले ६ अंक बनाएको छ । बाँकी तीन खेल जिते र अरु टिमले हारेकोमा फार वेस्टको अंकगणितीय सम्भावना बाँकी रहेको छ ।

वुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको फारवेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रनको लक्ष्य विराटनगर सामु प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले तीन बल बाँकी रहँदा ४ विकेट गुमाएर १ सय ५८ रन बनायो ।

विराटनगरका कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धसतकिय इनिङ खेले । उनले ४२ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६० रन योगदान गरे । ओपनर गौरान्सु शर्मा ११ रनमा आउट हुँदा प्रदिप ऐरीले २६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडेर पभेलियन फर्किएका थिए । हुसेन टलतले १७ रन जोड्दा पृथु बास्कोटा १७ रनमा अविजित रहे ।

फारवेस्टका करण केसी, प्रकाश जैसी, नुर अहमद र हस्मतुल्लाह शाहिदीले समान एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको फारवेस्टका विनोद भण्डारीले सर्वाधिक ४५ रन योगदान गरेका थिए । उनले ३८ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कप्तान हर्समतुल्लाह शाहिदीले २७ रन जोडे । मिलान्दा सिरिवार्दानाले १४ रन, उमेर अली १६ रन बनाएर आउट हुँदा करण केसी २१ रनमा अविजित रहे । फरवेस्टका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका साहब आलमले ४ ओभरमा ४३ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । कियोन जोसेफले २ विकेट लिँदा राज नन्, विवेक यादव र रोहित पौडेलले समान एक विकेट लिए ।

फारवेस्टले अर्को खेलमा विहिबार काठमाडौं नाइट्ससँग खेल्नेछ । विराटनगरले फारवेस्टसँगै शुक्रबार खेल्नेछ ।