गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार महेश दासलाई दिइने – Himalayan Dainik

गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार महेश दासलाई दिइने


गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार महेश दासलाई दिइने

वीरगञ्ज – स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्जमा कार्यरत पत्रकार महेश दासलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको मंगलबार बसेको बैठकले पत्रकार दासलाई स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।

लामो समयदेखि पत्रकारितामा क्रियाशील नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य दासलाई यो पुरस्कार दिने निर्णय गरिएको पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले जानकारी दिए ।

उनका अनुसार यो पुरस्कार बर्सेनी माघ १ गते वितरण हुँदै आएको छ । पत्रकार दास एभिन्युज टेलिभिजन मधेस प्रदेशका प्रमुख छन् ।

यसअघि यो पुरस्कार पर्साका पत्रकारहरु गया यादव , शत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, विजय भण्डारी, प्रताप श्रेष्ठलगायतकाले पाइसकेका छन् ।

पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष युवराज खड्का , कोषाध्यक्ष सञ्जीव मिश्रालगायत कार्य समिति सदस्यहरुको उपस्थिति थियो । वीरगञ्जको मेयर भएका वेला तत्कालीन माओवादी विद्रोहीले वरिष्ठ पत्रकार गिरीको हत्या गरेका थिए ।