पोखरालाई झिलिमिली बनाउन चोकचोकमा ‘हाई मास्ट’ र ‘स्मार्ट’ बत्ती – Himalayan Dainik

पोखरालाई झिलिमिली बनाउन चोकचोकमा ‘हाई मास्ट’ र ‘स्मार्ट’ बत्ती


पोखरालाई झिलिमिली बनाउन चोकचोकमा ‘हाई मास्ट’ र ‘स्मार्ट’ बत्ती

काठमाण्डौ – नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई ‘हाई मास्ट’ र ‘स्मार्ट’सडक बत्तीबाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य–मुख्य चोकहरूमा हाई मास्ट र सडकमा बत्ती राखी झिलिमिली बनाउने काम भइरहेको छ ।

पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकमा १६ मिटर अग्लो पोलमा २३ वटा हाई मास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाई मास्ट लाइट जडान भइरहेको हो । अहिलेसम्म आठ वटा हाई मास्ट लाइट जडान गरिएको छ ।
महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा एक हजार छ सय २४ वटा सडक बत्ती जडान गरिने छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाटका एक हजार एक सय चार वटा र एक सय २० वाटका पाँच सय २० वटा स्मार्ट बत्ती जडान गरिने छ । अहिलेसम्म एक सय ७१ वटा बत्ती जडान गरिएको छ । सडक बत्ती जडान कार्य आउँदो फागुनभित्र सकिने छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो बुधवार बेलुकी बिरौटा क्षेत्रमा जडान गरिएका हाई मास्ट र सडक बत्तीको संयुक्तरूपमा उद्घाटन गर्नुभयो । रिमोटमार्फत बिरौटा, लेकसाइड लगायत ठाउँमा राखिएका हाई मास्ट र सडक बत्ती बालिएको थियो ।

कम बिजुली खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । सडक बत्तीले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरेको छ ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालितरूपमा सडक बत्तीलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि २७ वटा फिडर प्यानल जडान गरिने छ । त्यसमध्ये तीन वटा जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ ।

स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेयरबाट बिजुलीको महसुलको बिलिङ गरिन्छ । बत्ती बलेकोरनबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय ठाउँहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, बिजुलीको माग बढ्ने र रातिको खेर जाने बिजुली पनि खपत हुने प्राधिकरणको विश्वास छ ।