एमालेलाई सबैभन्दा ठूलो दल बनाउन ओलीको कसरत – Himalayan Dainik

एमालेलाई सबैभन्दा ठूलो दल बनाउन ओलीको कसरत


एमालेलाई सबैभन्दा ठूलो दल बनाउन  ओलीको कसरत

काठमाडौँ – एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन् । एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताहरूले नेपालसँग भेटघाट गरी नेकपा एसका नेताहरूलाई पुरानो घरमा फर्कन आग्रह गर्दै एकताको प्रयास थालेका हुन् ।

मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि नै नेता नेपालसँग निरन्तर भेटघाट गरिरहेका एमालेका नेताहरूले संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन् । यही सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले मंगलबार साँझ नेकपा एसका अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेको धारणा राख्दै पुरानै पार्टीमा फर्कन आग्रह गरेका थिए । उनले एमालेभित्र सम्मानजनक स्थान दिने बताउँदै पार्टी एकता वा समाहितका लागि प्रस्ताव राखेका थिए ।

नेकपा एसका नेता एवं नेपालका सम्धी सोमप्रसाद पाण्डेको घरमा उनीहरूबीच भेटघाट भएको थियो । सो भेटघाटमा उनीहरूले सम्भावित योजना र सरकारको विषयमा पनि छलफल गरेको स्रोतको दाबी छ । यद्यपि उनीहरूबीचको भेटघाटबारे कुनै धारणा सार्वजनिक गरिएको छैन । एमाले र माओवादी केन्द्रभित्र वाम एकताको पक्षमा वकालत गर्दै आएका नेताहरूको प्रतिनिधित्व गर्दै पौडेलले अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेमै फर्कन आग्रह गरेका थिए । यस विषयमा एमाले अध्यक्ष ओलीकै पहलकदमी रहनुपर्ने धारणा नेकपा एसबाट आएको स्रोतको दाबी छ ।