काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तहका नतिजा सार्वजनिक नभई भर्ना आह्वान गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यलयले गतवर्ष माघ र फागुनमा सञ्चालन गरेको चार वर्षे बीबीएस र बीएडका परीक्षाफल सार्वजनिक गर्न सकेको छैन । तर शिक्षाध्यक्षको कार्यालयले भने स्नातकोत्तर तहको भर्नाको लागि आह्वान गरेको छ ।
त्रिविले स्नातक तहको नतिजा नआउँदै भर्ना आह्वान गरेपछि विद्यार्थी भने अन्योलमा परेको बताउँछन् । त्रिवि शिक्षाध्यक्षको कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातकोत्तर तहमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गका क्याम्पसमा भर्ना आह्वान गरेको हो ।
सूचनामा पुस ६ देखि माघ ५ गतेसम्म आवेदन फाराम वितरण तथा बुझाउने मिति तोकिएको छ । माघ २२ गतेदेखि पढाइ सञ्चालन गरिने त्रिविले जनाएको छ। प्रवेश परीक्षा सम्बन्धित डिन कार्यालयले आफू अनुकूल निर्धारण गर्न सक्नेछन् ।
त्रिवि परीक्षा नियन्त्रण कार्यलयका परीक्षा सह–नियन्त्रक डा.घनश्याम ठाकुरले बाँकी रहेका नतिजाहरु चाँडो सार्वजनिक गर्ने गरी तीव्र रुपमा काम भइरहेको बताए । उनले भने ‘केही नतिजाहरु निकाल्न बाँकी छन् । एकदम तीव्र रुपमा काम भइरहेको छ । चाँडै निकाल्छौं ।’
त्रिविको सूचना अनुसार स्नातकोत्तर तहमा भर्ना फाराम भर्ने अन्तिम दिनसम्ममा नियमिततर्फका सबै विषय र संकायका नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।
त्रिविका शिक्षाध्यक्ष शिव भुषालले भने त्रिविको क्यालेन्डर अनुसार स्नातकोत्तर तहको भर्ना आह्वान गरेको बताउँछन् । उनी भन्छन् ‘हो, सबैको नतिजा आएको छैन तर अहिले भर्ना आवेदन नखुलाउँदा क्यालेन्डर ढिलिने भयो त्यसैले नतिजा पनि आउँदै गर्छ भर्ना पनि हुँदै गर्छन भनेर खोलिएको हो ।’
परीक्षा नियन्त्रण कार्यालयले नतिजा चाँडै निकाल्ने तयारी भईरहेको जानकारी दिएपछि भर्नाको लागि आवेदन आह्वान गरेको उनले बताए । नतिजा चाँडो आए तोकिएको समयभित्र विद्यार्थीले भर्ना आवेदन भर्न सक्ने यदि केही ढिला भयो भने समय थप गर्ने जानकारी दिए ।
त्रिविको शैक्षिक क्यालेन्डर अनुसार र स्ववियु चुनाव पनि गर्ने तयारी भइरहेकाले पनि समयमा भर्नाको लागि आह्वान गर्न जरुरी रहेकोले खोलिएको शिक्षाध्यक्ष भुषालको भनाइ छ । उनी भन्छन् ‘भर्ना त समयमा नै खोल्नुपर्छ भनेर आवेदन खोलका हौं । अर्को कारण भनेको अब स्ववियु चुनाव पनि गर्ने भन्ने छ । अहिले खुलाईएन भने झन ढिला हुनसक्छ भनेर पनि हो ।’