गठबन्धन नटुटाई रास्वपालाई पनि गाँसेर जानुपर्छ : महामन्त्री शर्मा – Himalayan Dainik

गठबन्धन नटुटाई रास्वपालाई पनि गाँसेर जानुपर्छ : महामन्त्री शर्मा


गठबन्धन नटुटाई रास्वपालाई पनि गाँसेर जानुपर्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई अझ बलियो बनाउनुपर्ने बताएका छन्। त्यस्का लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत साथमा लिएर सरकार बनाउनुपर्ने उनको धारणा छ।

आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत महामन्त्री शर्माले ‘एक्लो बहुमत’ बसैको पनि नरहेको उल्लेख गर्दै पाँच वर्ष सरकार टिकाउन रास्वपालाई लिएर सरकार निर्माण गर्नुपर्ने बताएका छन्। उनले सत्ता गठबन्धनका दलबीच नेपाली कांग्रेस २ वर्ष, माओवादी २ वर्ष र नेकपा एकीकृत समाजवादी १ वर्ष प्रधानमन्त्री हुने गरी गरेको समझदारीको समर्थन गरेका छन्।

‘हामी कसैसँग बहुमत छैन। गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ। त्यसैले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात गरौँ,’ शर्माले भनेका छन्, ‘२/२/१ मा परिपक्वता छ। तर, इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ। गठबन्धन टुट्नुहुन्न। रास्वपा गाँसेर जानु तर्कपुर्ण छ।’

उनले संसद ५ वर्ष टिकाउन साझा अपनत्व अपनाउनुपर्ने उल्लेख गर्दै रुपान्तरण अनुभूति हुने सुशासनको सूत्रबद्ध योजना र सत्तामा अनुभवी र नयाँको संयोजनका साथ राज्यको डेलिभरी क्षमता वृद्धिमा टिम स्पीरिट हुनुपर्ने बताएका छन्।

हाल सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र राष्ट्रिय जनमोर्चा आबद्ध छन्।