तारकेश्वरवासीले अब निःशुल्क रक्त सेवा पाउने – Himalayan Dainik

तारकेश्वरवासीले अब निःशुल्क रक्त सेवा पाउने


तारकेश्वरवासीले अब निःशुल्क रक्त सेवा पाउने

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकाका बासिन्दाले रगतको परीक्षण तथा रक्तथैली शुल्क तिर्न नपर्ने भएको छ । काठमाडौँ उपत्यकामा स्थानीय बासिन्दालाई निःशुल्क रगत सेवा उपलब्ध गराउने नगरपालिकाको अभियानमा तारकेश्वर अर्को पालिका भएको छ ।

यही पुस ८ गतेदेखि लागू हुने गरी तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक दिव्यराज पौडेलले तारकेश्वर नगरपालिका कार्यालय धर्मस्थलीमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतापत्रमा तारकेश्वर नगरपालिकाको तर्फबाट जनस्वास्थ्य अधिकृत विनोदकुमार शाह र शम्भु पौडेल, नेपाल रेडक्रस सोसाइटीका जनसम्पर्क अधिकृत रामबहादुर श्रेष्ठ र लेखा अधिकृत शम्भु निरौलाले पनि हस्ताक्षर गरेका छन्।

नगरपालिका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट केन्द्रीय रक्त सञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गर्ने उद्देश्यले सो सम्झौता गरिएको तारकेश्वर नगर पालिकाका प्रमुख महर्जनले जानकारी दिए ।

सम्झौता कार्यक्रममा नगरपालिकाका स्वास्थ्य सेवा समितिका डा लक्ष्मी घिमिरेले तारकेश्वर क्षेत्रमा केन्द्रीय रक्तसञ्चार सेवाको सहकार्यमा रक्तसङ्कलन अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाको तर्फबाट विभिन्न वडाका वडाध्यक्षलगायत स्वास्थ्य सेवा सम्बन्धित स्वयंसेवक र कर्मचारीको उपस्थिति थियो ।
सो अवसरमा स्थानीय बासिन्दालाई सुलभ र निःशुल्क रगत उपलब्ध गराउन यो सम्झौता एउटा अर्को महत्वपूर्ण पहल भएको निर्देशक पौडेलले बताए । उनले भने, “अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिने छ ।”

रगतको आपूर्तिबमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई नगद शोधभर्ना दिइने सम्झौतामा उल्लेख छ । त्यस्तै नगरपालिकका हरेक वडाले वर्षको कम्तीमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् ।

नगरपालिकाको स्थायी बासिन्दा भएको वा नगरपालिकामा कार्यरत कर्मचारी भएको प्रमाणित हुने कुनै किसिमको सरकारी कागजात नागरिकता, मतदाता परिचयपत्र ई को प्रतिलिपिको आधारमा केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ । साथै दुर्घटनाजन्य अवस्थामा अत्यावश्यक भएमा नगरपालिकाको सिफारिसमा उनीहरुले सेवा पाउने छन् ।

सम्झौतापूर्व रक्तदानको महत्व र अवस्थाका बारेमा नेरेसोका जनसम्पर्क अधिकृत रामबहादुर श्रेष्ठ र निर्देशक पौडेलले अभिमुखीकरण गरेका थिए ।