संसदीय दलको नेतामा शेखरले नछाड्ने, गगन ‘ब्याक’ नहुने – Himalayan Dainik

संसदीय दलको नेतामा शेखरले नछाड्ने, गगन ‘ब्याक’ नहुने


संसदीय दलको नेतामा शेखरले नछाड्ने, गगन ‘ब्याक’ नहुने

काठमाडौं – नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक अझै जारी छ। संस्थापन इतर समूहबाट कांग्रेस संसदीय दलको उम्मेदवार टुंगो लगाउन शेखर–गगन समूहको बैठक सोमबारदेखि जारी छ।

दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको हो। उक्त समूहका नेताहरु मंगलबार बिहानैदेखि छलफलमा जुटेका छन्।

शेखर कोइराला र गगन थापाले पनि संसदीय दलको नेतामा आकांक्षा राखेका छन्। शेखरले आफ्नो अन्तिम कार्यकाल रहेकाले यसपटक संसदीय दलको नेताका रुपमा समर्थन गर्न गगनलाई आग्रह गर्दै आइरहेका छन्।

तर, महामन्त्री थापाले आफू युवा भएको र निर्वाचन अगाडि नै संसदीय दलको नेताका रुपमा चुनाव लड्ने घोषणा गरिसकेको दाबी गरेका छन्। बैठकमा सहभागी एक नेताका अनुसार थापा ‘ब्याक’ हुने अवस्थामा छैनन्।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि आफूलाई भावी कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीको रुपमा अघि सारेका महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारीमा छन् ।

उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेताको समर्थन छ । तर, पार्टीभित्र देउवाको बहमुत छ। बैठकमा उपसभापति धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसीलगायतका नेताहरु सहभागी छन्।