प्रधानमन्त्री र सातै प्रदेशको मुख्यमन्त्री कांग्रेसले लिनुपर्छ : कल्याण गुरूङ – Himalayan Dainik

प्रधानमन्त्री र सातै प्रदेशको मुख्यमन्त्री कांग्रेसले लिनुपर्छ : कल्याण गुरूङ


प्रधानमन्त्री र सातै प्रदेशको मुख्यमन्त्री कांग्रेसले लिनुपर्छ : कल्याण गुरूङ

काठमाडौं – नेपाली कांग्रेसका नेता कल्याण गुरूङले संघ र सातवटै प्रदेशको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका छन्।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका नेता गुरूङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत संघको प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्री लिन कांग्रेसले पहल गर्नुपर्ने बताएका हुन्।

‘२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधिकारिक मत र परिणाम सार्वजनिक भई सकेको छ’, उनले भनेका छन्’, ‘बन्ने संघीय सरकार नेपाली कांग्रेस नेतृत्वमा हुनु पर्छ। प्रधानमन्त्री नेपाली कांग्रेसको हुनु पर्छ। सात वटा प्रदेशको मुख्यमन्त्री पनि सम्भव भए सम्म नेपाली का‌ंग्रेसले लिने पहल गर्नुपर्छ।’

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति तथा सात वटै प्रदेश प्रमुखहरूलाई बुझाएसँगै सरकारका निर्माणको बाटो खुलेको छ। यो निर्वाचनमा संघ र प्रदेशमा कुनै पनि दलले एकल बहुमत ल्याउन सकेनन्। केन्द्र र प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने विषयमा दलहरुबीच कुरा मिल्न बाँकी छ।

पाँच दलीय गठबन्धनभित्र प्रधानमन्त्री को बन्ने भन्ने विषयमा विवाद छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो कार्यकाल आफूले नेतृत्व गर्ने मनस्थितिमा छन् भने प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पहिलो कार्यकाल आफूले नेतृत्व गर्ने अडान लिइरहेका छन्।