सरकार विरोधी प्रदर्शनमा सहभागी भएको भन्दै इरानमा अभिनेत्री पक्राउ – Himalayan Dainik

सरकार विरोधी प्रदर्शनमा सहभागी भएको भन्दै इरानमा अभिनेत्री पक्राउ


सरकार विरोधी प्रदर्शनमा सहभागी भएको भन्दै इरानमा अभिनेत्री पक्राउ

 

काठमाडौं – सरकारविरोधी प्रदर्शनप्रति ऐकबद्धता जनाएको भन्दै इरानकी एक एक चर्चित अभिनेत्री पक्राउ परेकी छन्।

इरानी सञ्चारमाध्यमका अनुसार ३८ वर्षीय तरानेह अलिदुस्तीलाई ‘झूट फैलाएको र अराजकता भड्काएको’ आरोपमा गिरफ्तार गरिएको हो। सन् २०१६ को ओस्कार विजेता चलचित्र ‘द सेल्सम्यान’ मा उनले निर्वाह गरेको भूमिकाबाट उनी सबैभन्दा बढी परिचित छिन्।

अलिदुस्तीले यही डिसेम्बर ८ मा समाजिक सञ्जालमा पछिल्लो पोष्ट गरेकी थिइन्। सोही दिन हिजाबविरुद्धको प्रदर्शनका क्रममा पक्राउ परेका २३ वर्षीय मोहसेन शेकरीलाई मृत्युदण्ड दिइएको थियो। हिजाबविरुद्धको प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन्।

हिरासतमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर इरानमा तीन महिनादेखि लगातार हिजाबविरुद्ध प्रदर्शन हुँदै आएको छ। पूरै टाउको ढाक्ने गरी हिजाब नलगाएको आरोपमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको गत भदौ ३१ गते प्रहरी हिरासतमा मृत्यु भएको थियो। उनले हिजाबको नियम तोडेको प्रहरीको आरोप थियो। त्यसयता इरानमा निरन्तर हिजाबविरुद्ध प्रदर्शन हुँदै आएको छ।