प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना – Himalayan Dainik

प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना


प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना

काठमाण्डौ – प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ ।

वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई पुस १ गते अर्थात् आजदेखि जरिबाना गर्ने जनाएको थियो । पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय पाइएको वातावरण विभागले जनाएको छ ।

छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचमा फेल हुने गाडीलाई जरिबाना गरिने विभागले जनाएको छ । वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाही गर्न लागेको हो ।

वातावरण विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आजदेखि छड्के जाँच हुनेछ । वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना हुने र गाडी मर्मत गरी प्रदूषण जाँचपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने व्यवस्था छ ।

वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुल्ला रुपमा जलाउने फोहर रहेको भन्दै मापदण्डको पालना गर्न र फोहर नजलाउन विभागले अनुरोध गर्दै आएको छ ।