केयूबाट १ हजार ६९६ विद्यार्थी दीक्षित – Himalayan Dainik

केयूबाट १ हजार ६९६ विद्यार्थी दीक्षित


केयूबाट १ हजार ६९६ विद्यार्थी दीक्षित

धुलिखेल – काठमाडौँ विश्वविद्यालय (केयू)को २८ औँ दीक्षान्त समारोहमा बिहीवार १ हजार ६९६ विद्यार्थी दीक्षित भएका छन्।

दीक्षित हुनेहरूलाई प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवा, प्रमुख आतिथि वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल, डिन लगायतले प्रमाणपत्र वितरण गरेका थिए।

केयूका उपकुलपति प्रा.डा. भोला थापाले दीक्षान्तमा विभिन्न विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६०६ जना विद्यार्थी दीक्षित भएको जानकारी दिए।

उनका अनुसार २८ औँ दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रममा स्कुल अफ साइन्स, इन्जिनियरिङ, शिक्षा, म्यानेजमेन्ट, मानविकी संकाय, कानुन र मेडिकल साइन्सेज विधाका विभिन्न कार्यक्रममा अध्ययन पूरा गरेका दीक्षित भएका हुन्।

तीमध्ये मानविकी संकायका २२० जना, शिक्षाका २०२, इन्जिनियरिङका २६, कानुनका ४०, म्यानेजमेन्टका ४६२ जना, मेडिकल साइन्सेजका ७०९ जना र साइन्सका ३७ जना विद्यार्थी छन्।

उक्त दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीमा पुरुषभन्दा महिला बढी छन्। महिला ५६.८० प्रतिशत अर्थात् ९६५ जना र पुरुष ४३।२० प्रतिशत अर्थात् ७३४ जना छन्।

दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीमा अष्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, मालदिभ्स, पोर्चुगल, रूस, सिंगापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १८६ जना अर्थात् १०.९५ प्रतिशत रहेका छन्। हालसम्म ४० हजार ३८ जना विद्यार्थी दीक्षित भइसकेको केयूले जनाएको छ।