पक्राउ परे नेहा र निहारिका – Himalayan Dainik

पक्राउ परे नेहा र निहारिका


पक्राउ परे नेहा र निहारिका

काठमाडौँ   – दाइजो र घरेलुहिंसा मुद्दाविरुद्ध विगत ६ दिनदेखि आन्दोलनरत नेहा चौधरी र निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु रामगोपालपुर नगरपालिकाअगाडिबाट पक्राउ परेका हुन्।

मंगलबार साँझ नेहाका श्रीमान् डा. पंकज चौधरीलाई प्रहरीले सोही मुद्दामा पक्राउ गरेको थियो। जाहेरीका आधारमा नेहाकी सासु, नन्दलगायतका आरोपीलाई समेत पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका नेहा र निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नेहा र निहारिका नेतृत्वको टोलीले नगरपालिका कार्यालयमा ढुङ्गा मूढा र सडक जाम गरेका थिए। स्थिति नियन्त्रणमा लिन उनीहरुलाई पक्राउ गरिएको एसपी कृष्ण पंगेनीले बताए।

उनले पंकज पहिले नै पक्राउ परिसकेको र थप आरोपी को खोजी भइरहँदा समेत आन्दोलन नरोकिएपछि उनीहरुलाई पक्राय गरिएको बताए। बुधबार प्रहरीले बिहीबार बिहान १० बजे सम्म थप आरोपी पक्राउ गर्ने बताएको थियो। निर्धारित समयमा आरोपी पक्राउ पर्न नसकेपछि आज ११ बजेदेखि उनीहरुले पुनः आन्दोलन सुरु गरेका थिए।

यता आन्दोलन नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाइफायर गरेको थियो। दोहोरा झडपमा प्रहरी हवलदार मुकेश प्रसाद यादव र नगर प्रहरी राम दुसिद यादव, गंगाराम राय, सुरेश राय घाइते भएको प्रहरीले जनाएको छ।