‘मै प्रधानमन्त्री !’ – Himalayan Dainik

‘मै प्रधानमन्त्री !’


‘मै प्रधानमन्त्री !’

पोखरा –  नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘योजना सफल भए तेस्रोपटक आफू नै प्रधानमन्त्री बन्ने’ संकेत गरेका छन् ।

कास्की अन्नपूर्ण गाउँपालिकास्थित सानोमा आफूले ‘कखरा’ सिकेको महेन्द्र आधारभूत विद्यालयको ‘हिरक जयन्ती समारोह’मा बुधबार सम्बोधन क्रममा उनले भने, ‘तपाईंहरूको आशीर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु ।’

गत ४ मंसिरको चुनावपछि आफूले ‘पहिलोपटक सार्वजनिक कार्यक्रममा बोलेको’ बताउँदै उनले ‘भ्रष्टाचार अन्त्यमा लागिपर्ने’ प्रतिबद्धतासमेत जनाए ।

‘भ्रष्टाचार नियन्त्रण देश विकासका निम्ति अनिवार्य सर्त छ, २०४७ यताका राजनीतिक नेतृत्वमा रहेका विशिष्ट व्यक्ति र सरकारमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरेर उनीहरूबाट भ्रष्टाचार भएको देखियो भने कडा कारबाहीबाट अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘आर्थिक विकासको दृष्टिकोणले हामीसँग भएका स्रोतसाधन व्यापक परिचालन गर्न सकिन्छ । म प्रधानमन्त्री बन्दा केही अविष्मरणीय काम गरेर अवश्य देखाउनेछु ।’

आफ्नो पहिलो कार्यकाल विधि, प्रक्रिया बुझ्न नपाई बितेको र दोस्रो कार्यकालमा मधेस, पहाड, हिमाल एकबद्ध गर्ने प्रक्रियामा भूमिका खेलेको स्मरण गर्दै प्रचण्डले ‘बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने’ प्रणसमेत गरे ।

पहिलोपटक रोल्पा, दोस्रोपटक सिरहासहित चितवनबाट आगामी चुनाव लडेका उनले ‘आगामी निर्वाचन कास्कीबाटै लड्न सक्ने’ उल्लेखसमेत गरे । गएको चुनाव गोरखाबाट लडेका उनले थपे, ‘समय यस्तै भयो भने अर्कोपटक कास्कीबाट चुनाव लड्न पनि बेर छैन ।’

चुनावपछि नयाँ दल उदय प्रमुख दलका लागि चुनौतीसँगै ‘अवसर’ भएको उनको जिकिर छ । ‘गम्भीर समीक्षासहित सुशासन, विकास र समृद्धि दृष्टिले यो अभियान सुरु गर्न सकेनौं भने आउने दिन चुनौतीपूर्ण हुनेछ,’ प्रचण्डले भने ।