अन्तरराष्ट्रिय फुटबल रंगशाला अलपत्र – Himalayan Dainik

अन्तरराष्ट्रिय फुटबल रंगशाला अलपत्र


अन्तरराष्ट्रिय फुटबल रंगशाला अलपत्र

काठमाडौँ –  गुल्मीमा निर्माणाधीन लखन थापा अन्तरराष्ट्रिय फुटबल रंगशाला निर्माण सम्पन्न नभई यसै अलपत्र परेको छ।

जिल्लाको इश्मा गापा–६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रंगशाला निर्माण सम्पन्न नभई अहिले गाडी सिक्ने ठाउँमा परिणत भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को २ करोड ८० लाख रुपैयाँमा माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौँसँग सम्झौता भएको थियो। उक्त कार्य २०७६ साल चैतमा सम्पन्न भए पनि अन्य काम भने यसै अन्यौलमै रहेको छ।

माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने काम सके पनि अहिले उक्त स्थान गाडी चलाउन सिक्ने ठाउँको रूपमा समेत परिणत हुन थालेको छ। रंगशाला नामकरण दिइएको उक्त स्थानमा अहिले खाल्डा परेका छन् र पर्खाल पनि भत्किदै गएको छ भने रोपिएको दुबोको पनि नाम निसाना नभई झार पलाएको छ।

झण्डै १ अर्ब लागतमा निर्माण सक्ने गरी १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइ रहेको रंगशालामा कभर्डहल र स्विमिङ पुल सहितको डिपीआर भएको थियो। रकम अभावका कारण काम अलपत्र परेको राष्ट्रिय खेलकुद परिषद् निर्माण शाखाका प्राविधिक माधव देवकोटाले जानकारी दिए।

रकम भएमा मात्र आफूहरूले काम अगाडि बढाउने भन्दै रकम नै नभएकाले आफूहरूले केही गर्न नसक्ने उनको भनाइ छ।

यता स्थानीय ६६ वर्षीय ओमबहादुर कुमालले रंगशाला बनाउने नाममा पहिले भएको चौरको नाम निसान हटाएको चौरलाई यता न उता बनाएको बताए।

पहिले भएको चौरमा गाईबाख्रा चराउने र रातो माटो खनेर दशैँमा घरलाई लिपपोत गरी चिटिक्क बनाउने स्थान नै हराएको उनको गुनासो छ। उनले रंगशाला नबन्दा राज्यको लगानी बालुवामा पानी जस्तै भएको भन्दै सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिए।

६५ वर्षीय कृष्णबहादुर कुमालले पहिले यहाँको रातो माटो खनेर मकैसरी साटेर खाएको अनुभव सुनाउँदै अब ती सबै कथा जस्तै भएको बताए। उनले न अब रातो माटो खन्न पाइने भयो न रंगशाला नै बन्यो भन्दै दुखेसो पोखे।

सोही स्थानकी १५ वर्षीय कुसुम मुखियाले युवाहरूका लागि खेलकुद आवश्यक भए पनि रंगशाला निर्माणले गति लिन नसक्दा दुःख लागेको भन्दै छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिइन्।

यता इश्मा गापाले भने आफूहरूसँग रंगशाला निर्माणमा कुनै समन्वय नभएको जनाएको छ।