४ हजार २ सय ८५ जना उम्मेदवारको धरौटी जफत – Himalayan Dainik

४ हजार २ सय ८५ जना उम्मेदवारको धरौटी जफत


४ हजार २ सय ८५ जना उम्मेदवारको धरौटी जफत

काठमाण्डौ – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनावको प्रतिवेदन भोलि बिहीवार राष्ट्रपतिलाई बुझाउने भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा सदस्य चुनावको प्रतिवेदन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने जानकारी गराएका हुन । यस्तै प्रदेश सभा सदस्य चुनावको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए । प्रतिवेदन पेस भएपछि निर्वाचित सांसदको नाम राजपत्रमा प्रकाशित गरिने उनले जानकारी दिए ।

प्रतिनिधि सभातर्फ दुई सय ७५ र प्रदेश सभातर्फ पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष एक सय ८४ जना अर्थात् ६६ दशमलव ९० प्रतिशत र महिला ९१ जना अर्थात् ३३ दशमलव १० प्रतिशत निर्वाचित भएका छन् । यस्तै प्रदेश सभातर्फ पुरुष तीन सय ५० जना अर्थात् ६३ दशमलव ६४ प्रतिशत र महिला दुई सय जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएका छन् ।

यसैबीच प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका उम्मेदवारमध्ये एक हजार नौ सय ६१ जना र प्रदेश सभातर्फ दुई हजार तीन सय २४ जना गरी जम्मा चार हजार दुई सय ८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको आयोगले जनाएको छ । सम्बन्धित निर्वाचन क्षेत्रमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।

यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको चुनावमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाअनुसार प्रतिनिधि सभातर्फ बन्दसूची पेस गर्ने ४७ दलमध्ये ४० वटा दलको धरौटी जफत भएको छ । यस्तै प्रदेश सभातर्फ प्रदेश नम्बर १ मा ३०, मधेश प्रदेशमा २६, बाग्मती प्रदेशमा ३३, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ ।