संसद्‌का कर्मचारीको सेवा सुविधा बढाउने अवस्था छैन : अध्यक्ष तिमिल्सिना – Himalayan Dainik

संसद्‌का कर्मचारीको सेवा सुविधा बढाउने अवस्था छैन : अध्यक्ष तिमिल्सिना


संसद्‌का कर्मचारीको सेवा सुविधा बढाउने अवस्था छैन : अध्यक्ष तिमिल्सिना

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन्। संसद् सचिवालयका कर्मचारीले आफ्नो सेवा सुविधा बढाउन माग गरिरहेका वेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो।

संसद् सेवा दिवसको अवसर पारेर मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा नसुध्री संसद् सचिवालयका लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे। अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको वेला कर्मचारीले आफ्नो सुविधा बढाउने माग गर्न नहुने भन्दै सचेत गराए।

देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयलाई सम्बोधन गर्न जोड दिने उनले आश्वासन थियो। अध्यक्ष तिमिल्सिनाले सांसदहरूको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताए।

‘संसद् सचिवालयका कर्मचारीको सेवा, सुविधा बढाउने ठाउँ अहिले पनि कहीँ छैन। अतिरिक्त काम गरेकोमा भत्ता दिऊँ, अलिकति बढाऔँ भन्यो भने जनता के भएका छन् भन्ने आइराखेको अवस्था छ। देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा ती अपेक्षा पनि पूरा हुने हुन्’‚ उनले भने, ‘अन्यथा संसद्‌मा गर्नुपर्ने धेरै खर्च व्यवस्थापन र राम्रो काम गर्नका लागि धेरै चिज छ। समितिका तर्फबाट बाहिर फिल्डमा जाँदा सांसदलाई सुविधा बढाउनुपर्ने अवस्था छ। यस्तो स्थितिमा हामी अहिले छौँ। त्यसकारण देशको आर्थिक विकास र समृद्धितिर जाँदा मात्रै यी कुरालाई पनि जोड दिन सक्छौँ।’

अध्यक्ष तिमिल्सिनाले संसद्को कामकारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दैं अघि बढ्नुपर्ने आवश्यकता समेत औँल्याए।

कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले संसद् अझै पनि सरकार र कर्मचारीतन्त्रको अवहेलनाबाट मुक्त हुन नसक्दा मुलुकमा प्रजातन्त्र कमजोर हुन पुगेको बताए। उनले संसद् सचिवालयलाई स्वायत्त निकाय बनाए पनि त्यसले जनताको सार्वभौम निकायको रूपमा काम गर्ने क्षमता विकास गर्न नसकेको गुनासो गरे।

‘संसद् जहिले पनि कार्यकारिणी र कर्मचारीतन्त्रबाट डोमिनेट हुनुपर्ने अवस्थाबाट प्रजातन्त्रले अग्रगामी स्वरूप लिन सक्दैन र आफ्नो उद्देश्य हासिल गर्न सक्दैन भनेर हामीले छलफल शुरु गर्‍यौँ। तिता अनुभव छन्। समितिमा यसलाई स्वायत्त निकाय बनाउनुपर्‍यो भनेर छलफल गर्दा मन्त्रीहरूसँग तितो बहस भएको थियो’, रानाभाटले भने, ‘त्यसबाट यसलाई स्वायत्त निकायको रूपमा विकास गर्न सकियो। यसमा मेरो पनि योगदान भएकोले गौरव अनुभूति गर्दछु। यदि संसद् कमजोर भइदियो भने मुलुक कमजोर भएर जान्छ। मलाई अन्यथा नलिनुहोला। २०४८ सालदेखि अहिलेसम्मको अनुभव हेर्दा हामी अझै परिपक्व प्रजातन्त्र हुन सकेका छैनौं। संसद् कमजोर छ।’

पूर्वसभामुख रानाभाटले संसद्लाई कमजोर हुन नदिए मात्रै मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था मजबुत भएर जाने स्मरण गराए।