नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घन्टा सवारी रोकिने – Himalayan Dainik

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घन्टा सवारी रोकिने


नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घन्टा सवारी रोकिने

चितवन  – नारायणगढ–मुग्लिन सडक खन्डमा दैनिक चार घन्टा सवारी आवागमन रोकिने भएको छ। सडक खन्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको छ। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिनेछ।

भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको हो।

प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनी, माइक्रोबस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै, मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्यांकरलगायतका भारी सवारीसाधनलाई भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिनेछ ।

काठमाडौंतर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केबलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिनेछ। यस्तै, काठमाडौंतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउने मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ।

बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ। यस्तै, पोखरा–काठमाडौं सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ। निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्नेछन् भने सडकखण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ।