विराटनगरलाई डुबानमुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु – Himalayan Dainik

विराटनगरलाई डुबानमुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु


विराटनगरलाई डुबानमुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु

विराटनगर – विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीबी) को सहयोगमा वर्षात्को पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ । महानगरलाई वैज्ञानिकरूपमै डुबानबाट मुक्त गर्न एडीबीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

प्रमुख कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ । आरयुडिपी प्रोजेक्टअन्तर्गतको स्मेक डिएमले वर्षातको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको प्रमुख कोइरालाले बताए ।

विराटनगरमा जम्ने पानीलाई कसरी सिङ्घिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडीबीका परामर्शदाताबाट अध्ययनको सुरुवात गरिएको उनको भनाइ छ । त्यस्तै पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोलालगायतको पानीलाई पनि मूलखोलामा पुर्‍याएर वर्षाको पानीलाई व्यवस्थापन गर्ने महानगरको योजना छ ।

विराटनगरको उत्तरबाट दक्षिण र पूर्वबाट पश्चिमसम्मको भाग हेरिरहेका छौँ, प्रमुख कोइरालाले भने, एडीबीबाट आएका साथीहरूसँग म आफैँ हिँडिरहेको छु । उहाँहरूले अध्ययन गरेपछि एक–दुई हप्ताभित्रैमा प्रतिवेदन तयार पार्नुहुनेछ र त्यसपछिको प्रक्रियामा अगाडि बढ्नेछौँ ।

स्मेक डिएमका टोलीनेता डा शेख जाबेद मोहम्मदसहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा सूक्ष्म अध्ययन गरेको छ । टोलीले अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ । प्राविधिकसहितको टोलीले विराटनगर वडा नम्बर ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ ।