मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाण्डौका ठाउँ–ठाउँमा समस्या – Himalayan Dainik

मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाण्डौका ठाउँ–ठाउँमा समस्या


मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाण्डौका ठाउँ–ठाउँमा समस्या

काठमाण्डौ – मेलम्ची खानेपानीको पानी वितरणका पाइप फुट्दा काठमाण्डौका ठाउँ–ठाउँमा समस्या भएको छ । पानी वितरण सुरु भएसँगै उपत्यकाका विभिन्न ठाउँमा पाइप फुट्दा सर्वसाधारणले सास्ती भोगेका छन् भने सडकको ट्राफिक व्यवस्थापनमै समस्या भएको छ ।

आज सोमवार दिउँसो लैनचौरमा पाइप फुटदा सडकको केही भागसमेत बगेको छ । जलगम्न हुँदा पैदल यात्रुलाई हिँड्न समस्या भएको छ । पाइप फुट्दा सडकसमेत भत्किएकाले लैनचौर भएर चल्ने गाडीसमेत प्रभावित भएका छन् । खानी तथा भूगर्भ कार्यालयको अगाडि ठूलो पाइप फुट्दा त्यहाँको पानी कान्तिपथसम्म पुगेको छ ।

मेलम्चीको पानी तेस्रो पटक गएको शुक्रवारदेखि वितरण हुन थालेको छ । तर पानीको बहाव धान्न नकसेर ठाउँ–ठाउँमा पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले संयुक्तरूपमा काम गरेर समस्या देखिएका ठाउँमा समाधानको पहल भइरहेको दाबी गरेका छन् । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरण भइरहेको छ ।