सुदूरको सभ्यता, नवप्रवर्द्धन र रूपान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु – Himalayan Dainik

सुदूरको सभ्यता, नवप्रवर्द्धन र रूपान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु


सुदूरको सभ्यता, नवप्रवर्द्धन र रूपान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशको सभ्यता, नवप्रवर्द्धन र रूपान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सोमबारदेखि सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय महेन्द्रनगरमा सम्मेलन सुरु भएको हो।

विश्वविद्यालय स्थापना भएको १२ वर्षपछि पहिलोपटक सभ्यता, सम्पदा, नवप्रवर्द्धन र रूपान्तरणको विषयमा सुदूरपश्चिमको अध्ययन विषयक अन्तर्राष्ट्रिय सम्मेलन गरिएको हो। सम्मेलनको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सुदूरको सभ्यता र पछिल्ला दिनहरूमा रूपान्तरणदेखि प्राज्ञिक उचाइ वृद्धि गर्ने अपेक्षा राखे। प्रदेश प्रमुख जोशीले ज्ञान अभिवृद्धिका साथै सूचना प्रविधिको विकास र समाजलाई थप शैक्षिक गन्तव्यमा डोर्‍याउने बताए।

सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले अक्सफोर्ड विश्वविद्यालय, ब्रिटेन नेपाल एकेडेमी काउन्सिलसँगको समन्वयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताए। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा। अम्मराज जोशीले विभिन्न ९ देशका विद्वानहरूले विविध ७६ विषयमा शोधपत्र प्रस्तुत गर्ने बताए।

उपकुलपति डा। जोशीका अनुसार शिक्षा, स्वास्थ्य, मेडिकल, इन्जिनियरिङ, प्राकृतिक स्रोत साधन, वातावरण, कृषि, जनजीविका, विज्ञान, समाजिक विज्ञान, परिवेश, इतिहाससहित सुदूरपश्चिमको सम्भावनाको विषयमा अध्ययन हुनेछ। सम्मेलनले सुदूरपश्चिमको वृद्धि विकासमा नीति निर्माणदेखि टेवा पुग्ने अपेक्षा गरिएको छ।