लम्कीचुहा नगरपालिकाकी मेयरमाथि पत्रकार बन्धन बनाएको आरोप – Himalayan Dainik

लम्कीचुहा नगरपालिकाकी मेयरमाथि पत्रकार बन्धन बनाएको आरोप


लम्कीचुहा नगरपालिकाकी मेयरमाथि पत्रकार बन्धन बनाएको आरोप

धनगढी  – कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीमाथि पत्रकारलाई बन्धक बनाएको आरोप लागेको छ । मेयर शाहीले न्युज २४ मा कार्यरत पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको आरोप लागेको हो ।

कैलालीका पत्रकार ढुङ्गाना आइतबार रिपोर्टिङका क्रममा लम्कीचुहा पुगेका थिए । मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारीसाधन प्रयोग गरिरहेको बारेमा रिपोर्टिङ गर्न थालेपछि आफूलाई केही घण्टा नियन्त्रणमा लिएको पत्रकार ढुङ्गानाले बताएका छन् ।

नगर प्रमुख शाहीले केही मानिसहरूसहित आएर आफूलाई नजिकैको होटलमा लगेर मोबाइल र आफूलाई नियन्त्रणमा लिएर खिचेका सबै तस्वीर तथा भिडियो डिलिट गर्न लगाएको ढुङ्गानाको आरोप छ । पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाले जोशीले घटनाबारे थप बुझिरहेको बताए । रिपोर्टिङका क्रममा यसरी पत्रकारलाई फोटो भिडियो नै डिलिट गर्न लगाउनु र धम्क्याउनु सरासर गलत भएको जोशीले बताए ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शंकर खड्काले घटनाबारे आफूसँग विस्तृत जानकारी नभएको बताए । ‘सामान्य रूपमा उहाँहरूबीच एउटा होटलमा बसेर कुराकानी भएको र त्यसपछि फोटो र भिडियो डिलिट गर्न लगाएको भन्ने खबरमात्रै प्राप्त प्राप्त भएको छ,ु प्रमुख खड्काले भने, ुघटनाबारे थप अनुसन्धान हुँदैछ ।दोषी प्रमाणित भए जो कसैलाई पनि गल्ती गरे अनुसारको सजाय मिल्ने उनको भनाइ छ ।

पत्रकार ढुङ्गानालाई समाचार संकलन गरिरहेका बेला मेयर शाहीले गरेको व्यवहारप्रति प्रेस चौतारी कैलालीले विरोध जनाएको छ । प्रेस चौतारीका सचिव जनक विष्टले विज्ञप्ति जारी गरी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । मेयर शाहीसँग यसबारेमा थप बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।