अर्जेन्टिना सेमिफाइनलमा प्रवेश – Himalayan Dainik

अर्जेन्टिना सेमिफाइनलमा प्रवेश


अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

काठमाडौं – लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो ।

तनावपूर्ण बनेको क्वार्टरफाइनलमा गोलकिपर एमिलियानो मार्टिनेज नायक बनेपछि नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको हो । कतारको लुसैल रंगशालामा सम्पन्न तनावपूर्ण खेल पेनाल्टी सुटआउटमा पुग्नुअघि अर्जेन्टिना र नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकिएका थिए ।

यता अर्जेन्टिनाका कप्तान लियोनल मेसी, लियो पाराडेज, गोन्जालो मोन्सियल र लौटारो मार्टिनेजले गोल गरे । अर्जेन्टिनाका लागि चौथो नम्बरमा पेनाल्टीका लागि आएका एन्जो फर्नान्डेजको प्रहार भने बाहिरिएको थियो । त्यसअघि, खेलको ३५ औँ मिनेटमा नाहुल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

मेसीले नेदरल्यान्ड्सका पाँच रक्षकहरुको भिडबाट निकालेको सुन्दर बललाई मोलिनाले गोलमा परिणत गरेका थिए । विश्वकपमा मोलिनाको यो पहिलो गोल हो । यस्तै, विश्वकपमा मेसीको यो सातौँ असिस्ट हो । ७३ औँ मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रतालाई दोब्बर पारे । नेदरल्यान्ड्सका डेम्बेल डम्फ्राइजले आफ्नो १८ यार्ड बक्सभित्र क्षेत्रभित्र मार्कोस अकुनालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसमा मेसीले कुनै गल्ती गरेनन् ।
८३ औँ मिनेटमा वोउट विघ्रोस्टले गोल गर्दै नेदरल्यान्ड्सललाई २–१ मा फर्काएका थिए । यस्तै, खेलको इन्जुरी टाइमको अन्तिम मिनेटमा विघ्रोस्टले नै गोल गरेपछि नेदरल्यान्ड्स खेलमा फर्किएको थियो । इन्जुरी टाइमकओ पनि अन्तिम मिनेटमा अर्जेन्टिनाको १८ यार्ड बक्सबाहिरबाट नेदरल्यान्ड्सले फ्रिकिकको अवसर पाएको थियो । उक्त फ्रिकिकमा टेउन कुपमेनर्सले चतु¥याइँपूर्वक निकालेको पासमा विघ्रोस्टले बललाई जालीको दिशा दिएका थिए । नेदरल्यान्ड्सले अन्तिम मिनेटमा बराबरी गोल निकालेसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

निक्कै तनावपूर्ण बनेको खेलभर १६ वटा पहेँलो कार्ड देखाइएको थियो । यो जितसँगै अर्जेन्टिनाले फाइनलका लागि साविक उपविजेता क्रोएसियासँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसियाले अन्तिम–४ मा स्थान पक्का गरेको थियो । अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् ।