बिहे भोज खाएका अधिकांश बिरामीमा आउँ देखियो – Himalayan Dainik

बिहे भोज खाएका अधिकांश बिरामीमा आउँ देखियो


बिहे भोज खाएका अधिकांश बिरामीमा आउँ देखियो

काठमाडौँ – पाल्पामा केही दिन पहिले बिहे भोज खाएपछि बिरामी परेका अधिकांशमा आउँका किटाणु देखिएको पाइएको छ ।

मिसन अस्पतालमा उपचार गर्न गएकाहरूको दिसा जाँचको रिपोर्टमा आउँका किटाणु देखिएको युनाइटेड मिसन अस्पताल पाल्पाले जनाएको छ ।

बिहे भोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीहरूको घरघरमा पुगेर उपचार गर्ने क्रममा समेत यस्तो देखिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए ।

बिरामी मध्ये कतिपयलाई सुधार आए पनि केहीमा पुनः समस्या देखिएको छ । बुधबार पुनः गर्भवती महिला, बालक र अर्का एक महिलासहित तीन जना नयाँ बिरामी भेटिएका छन् । मिसन अस्पतालमा उपचार गराएर फर्किएकाहरूको प्रयोगशाला रिपोर्ट अनुसार सबैमा दिसामा एक प्रकारको किटाणु देखिएको छ ।

दूषित पानी, खानाबाट हुने कीटाणुबाट आउँ परेको देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले जनाएको हो ।

बिरामीहरूलाई स्लाइन पानी चढाउने, औषधि, जीवनजल वितरण, स्वास्थ्य, सरसफाइसम्बन्धी जानकारी गराइएको चिर्तुङधारा स्वास्थ्य चौकीका प्रमुख नोदप्रसाद बस्यालले बताए ।

सामान्य अवस्थाका बाहेक अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या कायमै भएकाले बुधबार बिहानदेखि थप स्वास्थ्यकर्मी र थप औषधिसहित टोल बस्तीमा खटिएको उनले बताए ।

बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झण्डै सयभन्दा बढी घरपरिवारका १ सय ५० बढी तीन दिनयता बिरामी परेका छन् । निम्तो मान्न आएका छिमेकी गाउँ र प्युठानबाट आएका ४५ जना जन्ती पनि बिरामी परेका थिए ।

स्वास्थ्य कार्यालयले के खाएर फुड पोइजन भयो भन्ने पत्ता नलागेको र पानी जाँचका लागि नमूना सङ्कलन गरेको जनाएको छ ।